२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अन्तर्राष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाईँदै


0
Shares

काठमाडौं । कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो । कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गर्नुभयो ।

उहाँले आफूहरूको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइने बताउनुभयो ।

महासंघका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको अनुमोदन पश्चात् र राज्य पुनःसरचनापश्चातको नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताउनुभयो ।

महासंघले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्यांक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

सन १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।