२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मालपोत कार्यालय कञ्चनपुर सेटिङमा चलेको आरोप, कमिसन दिनेको काम छिट्टै, सेवाग्राहीको हप्तौं लाग्ने


0
Shares

कञ्चनपुर । भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरमा मिलेमतोको आधारमा काम हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

कर्मचारीहरुले कार्यालय बाहिर रहेका लेखनदासहरुसँग मिलेर आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका हुन् ।

उनीहरुले प्रक्रियागत ढङ्गले लाइनमा बसेका सेवाग्राहीको हप्तौंसम्म काम नहुने गरेको बताउँदै कमिसन दिनेहरुले भने कार्यकक्षमै गएर काम गर्ने गरेको आरोप लगाएका छन् ।

कर्मचारीहरुले आफूलाई भित्र जान नदिए पनि केहि व्यक्तिहरुलाई कार्यकक्षमै बोलाएर काम गर्ने गरेको कञ्चनपुरको बेदकोट नगरपालिका ७ का समिर मल्लले बताउनुभयो ।

उता कार्यालय प्रमुख खेमराज खत्री भने कुनै किसिमको आर्थिक लेनदेनमा काम नभएको दावी गर्नुभएको छ ।

उहाँले सेवाग्राहीको चापको अनुपातमा कर्मचारीको संख्या कम रहेकाले एकैदिनमा सबैको काम गर्न नसकिएको स्वीकार गर्दै प्रक्रिया पुगेको फाइल दुई दिनभन्दा बढी अड्कीएको पाइए कर्मचारीलाई कारवाही गर्न आफू तयार रहेको बताउनुभयो ।