
काठमाडौं । प्रदेश–१ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ ।
समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यस वर्ष किसानले तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।
निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो भने १३ लाख ११ हजार २४५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
धानको उत्पादन हेरेर किसान उत्साहित छन् भने उचित मूल्य निर्धारण नभएका कारण किसान निराश भएका छन् ।
१४ वटा जिल्ला रहेको प्रदेश १ मा उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भई कूल ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ ।
मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कूल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार ८०० हेक्टर जग्गामा दुई लाख २० हजार ४५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल नौ लाख ९५ हजार ३७७ मेट्रिकटन धान उत्पादन भएको छ ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६/०७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको थियो । यो प्रदेशमा यो वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन भएको हो ।
प्रतिक्रिया दिनुहोस्