४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


एसियाली खेलकुद आयोजनाका लागि कतारले माग्यो नेपालको समर्थन


0
Shares

काठमाडौं, मंसिर १८ । कतार ओलम्पिक कमिटीले २१औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ ।

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमन्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन् २०३० मा आयोजना हुने २१औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो ।

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ ।

एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औं ‘ओसीए’ महासभामा २१औं एसियन खेलकुदका लागि मतदान हुनेछ ।

हालसम्म कतार र साउदी अरेबियाले २१औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् ।

नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो ।

यसअघि, २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबलसमेत आयोजना गर्दैछ ।