
काठमाडौं, मंसिर १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा उहाँले वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने बताउनुभयो ।
मन्त्री भट्टले कोभिड–१९ पछिको परिस्थितिमा लगानी बढाइ रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुनेपनि बताउनुभयो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरुमा मजदुरहरुले बन्द, हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन माग गर्नुभयो ।
कार्यक्रममा उद्योगी–व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनर्कर्जाको सुविधा पाउन नसकेको बताएका थिए ।
उनीहरुले कर्जा पुनर्तालिकीकरणमा समेत समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्