
कन्चनपुर, साउन ४ । यही साउन १ गतेबाट स्थानीय तहमा हस्तान्तरण गरिएका कन्चनपुरका सरकारी कार्यालयहरुले अझैपनि सेवा सुचारु गर्न सकेका छैनन् ।
ती कार्यालयले आफ्नो चलअचल सम्पत्ति हस्तान्तरणमा पनि ढिलाइ गरेका छन् ।
कन्चनपुरमा हालसम्म दुईओटा सरकारी कार्यालयलेमात्रै आफ्नो सामान हस्तान्तरण गरेका छन् ।
महिला तथा बालबालिका कार्यालय र डिभिजन सहकारी कार्यालयले जिल्ला समन्वय समिति कन्चनपुरलाई सम्पूर्ण चलअचल सम्पत्ति हस्तान्तरण गरेका हुन् ।
तर, अरु कार्यालयले भने सामान हस्तान्तरण नगरेको जिल्ला समन्वय समिति कन्चनपुरका प्रमुख फैरु तामाङले बताए ।
उनले सरिसकेकाका कार्यालयका कर्मचारीले जिल्ला समन्वय समितिमा हाजिर गरिरहेको बताए ।
तामाङकाअनुसार खारेज भएका अरु कार्यालयहरुले मन्त्रालयबाट पत्र नआएको भन्दै सरेका छैनन् ।
सम्बन्धित मन्त्रालयबाट परिपत्र नआएकाले अरु सरकारी कार्यालय हस्तान्तरण गर्ने विषयमा अन्योल छ ।
संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तह तथा प्रदेश सरकारमा हस्तान्तरण नभइसकेकाले कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने ? भन्नेबारे अन्योलता छाएको हो ।
मुलुक संघीय संरचनामा गएको र संविधानले नै कतिपय सरकारी कार्यालयको व्यवस्था संघीय, प्रदेश र स्थानीय तहमा तोकेकाले जिल्लामा रहेका कार्यालयहरु हटाइएका हुन् ।
प्रतिक्रिया दिनुहोस्