१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कञ्चनपुरमा हिंसापीडित महिलाहरु समस्यामा


0
Shares

कञ्चनपुर, मंसिर १९ । सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी गरेको मापदन्डको पालना गर्दा हिंसापीडित महिलाहरु भने समस्यामा परेका छन् ।

हिंसामा परेको समयमा ‘पीसीआर’ रिपोर्टबिना आवधिक गृह (सेफ हाउस)मा राख्न नमानेपछि पीडितहरु समस्यामा परेका हुन् ।

कोरोनाभाइरस मापदन्ड २०७७ लागू गरेपछि संघ–संस्थाले पीडितहरुलाई सेफ हाउसमा राख्न नमान्दा समस्या भएको कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो ।

उहाँले ‘लकडाउन’ अवधिमा महिला हिंसाका घटना बढी भएको र पीडितहरुलाई सेफ हाउसमा राख्न खोज्दा संघ–संस्थाहरुले पीसीआर रिपोर्टबिना राख्न नमानेको जानकारी दिनुभयो ।

आर्थिक स्रोतको अभाव, पीसीआरको जाँच कञ्चनपुरमै नहुने र त्यसको रिपोर्ट आउनसमेत समय लाग्ने भएकाले थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

पछिल्लो समय विभिन्न ठाउँबाट उद्धार गरिएका महिला तथा बालबालिकालाई राख्नका लागि सेफ हाउसको समस्या भएको एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।