१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सहयोग नगरेको निर्माण व्यवसायीको गुनासो


0
Shares

काठमाडौं, मंसिर १९ । निर्माण व्यवसायी महासंघले कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको ‘लकडाउन’को अवधिमा छ हजार बढी आयोजनाको म्याद सकिएकाले तिनीहरुको म्याद थप गर्नुपर्ने माग गरेको छ ।

लकडाउनका कारण समयमै काम सम्पन्न हुन नसकेका आयोजनाको म्याद तत्कालै एक ‘सिजन’ थप्नुपर्ने निर्माण व्यवसायीको माग छ ।

उनीहरुले म्याद थपका विषयमा सरकारले कुनै चासो नदिँदा अधुरा आयोजनाको काम सुचारु गर्न नसकेको बताएका छन् ।

कोरोना महामारीका कारण १५ लाख बढीले रोजगारी गुमााएको यो क्षेत्रमा १० महिनाको अवधिमा ६५ अर्ब रुपैयाँ बढी गुमेको गुनासो व्यवसायीको छ ।

महासंघ अध्यक्ष रवि सिंहले सरकारकै कारण आयोजना निर्माणमा बाधा उत्पन्न भइरहेको बताउनुभयो ।

लामो समयदेखि म्याद थप्न माग गर्दासमेत सरकारी निकायबाट कुनै सहयोग नभएको उहाँको गुनासो छ ।

नेपाल राष्ट्र बैंकले प्रदान गरेको सहुलियत कर्जाबाटसमेत वञ्चित गरिएका कारण समयमै काम गर्न नसकेको निर्माण व्यवसायीको आरोप छ ।

सडक विभागले भने म्याद थप्नुपर्ने अवस्थामा रहेका विभिन्न सडकहरुको म्याद थपका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा जानकारी गराइसकेको बताएको छ । यद्यपि, अन्य आयोजनाका सम्बन्धका भने कुनै अनुरोध नआएको सरकारी अधिकारी बताउँछन् ।

ठूला आयोजनाको म्याद थपका लागि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्दछ । म्याद थप्ने/नथप्ने भन्ने विषयमा निर्णय हुन नसक्दा थुप्रै आयोजना आयोजना अलपत्र परेका छन् ।