१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुङ्मतीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण


13
Shares

ललितपुर, मंसिर १९ । ललितपुर महानगरपालिका वडा–२२ को बुङ्मतीमा भूकम्पलगायत प्राकृतिक विपत्तका बेला विशेष अवस्थाका मानिसलाई राख्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ ।

भवनको शुक्रबार नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासफ र महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

थाइल्यान्ड सरकारको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालको प्राविधिक सहयोगमा निर्मित सो भवनमा प्राथमिकताका आधारमा ज्येष्ठ नागरिक, बालबालिका, र विपद्मा परेर घाइते भएकाहरुलाई राखिनेछ ।

महानगरपालिकाका मेयर महर्जनले दाताको सहयोगमा विपद्का बेला बस्न बनाइएको भवनलाई राजनीतिक प्रयोजनका लागि उपयोग गर्न नपाइने बताउनुभयो ।

कार्यक्रममा राजदूत भोरासफले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको भन्दै सहयोग आदान–प्रदानले थप बलियो भएको विश्वास व्यक्त गर्नुभयो ।

वडा नम्बर–२२ का अध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै भवनको जिम्मेवारी महानगरपालिका र वडाबासीकै भएको बताउनुभयो ।

एक करोड तीन लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।