२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला, ‘बैठकबाट भाग्नेलाई नेतृत्व मान्न सकिँदैन’


0
Shares

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् ।

शुक्रबार थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले भेला गरेका हुन् ।

नेकपामा दुई अध्यक्षबीच विवाद चर्किंदै गएका बेला दाहाल–नेपाल समूहका विद्यार्थीहरु भेला भएका हुन् ।

विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

भेलालाई सम्बोधन गर्न पुग्नुभएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ‘बैठकमा भाग लिन्नँ’ भन्न नपाउने उहाँको भनाइ थियो । बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताउनुभयो ।

अध्यक्ष दाहालले प्रस्तुत गरेको दस्तावेज मान्दिनँ भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो ? भन्दै शाक्यले प्रश्न गर्नुभयो ।

लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिनँ भन्न नमिल्ने शाक्यले बताउनुभयो ।

बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताउनुभयो ।

अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताउनुभयो ।

भेलालाई दाहाल–नेपालनिकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेलगायतले सम्बोधन गर्नुभएको थियो ।

भेलामा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको थिएन ।