
तनहुँ, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–१, तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गर्नुभएको थियो ।
नेकपा तनहुँद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभा सदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रुटिपूर्ण तवरले गरिएको बताउनुभएको हो ।
उहाँहरुले निर्वाचित सांसदहरुलाई कुनै सम्पर्क तथा समन्वय नगरेको बताउनुभएको छ ।
पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उहाँहरुको आरोप छ ।
प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण भएको बताउनुभयो ।
वैधानिक क्षेत्राधिकार मिचिएर गरिएको कार्यप्रति विरोध जनाउँदै उहाँले विपक्षी पार्टीलाई समेत सरिक गराएर पाँच वर्ष विकास निर्माणको नेतृत्व नेकपाले लिने उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाका सांसद सिग्देल, कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रियसभाका सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङ, हरिबहादुर चुमान, आशा कोइराला र रामबहादुर गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सम्मानित राष्ट्रिय व्यक्तिले गलत प्रक्रियाबाट काम गर्न नहुने उल्लेख गरिएको छ ।
सम्बन्धित कार्यालयले हाल उद्घाटन गर्न मनासिव नदेखिएको भन्दै पत्राचार गर्दा पनि पार्टी कार्यक्रमजस्तो गरी उद्घाटन गरिएको सांसद श्रेष्ठले बताउनुभयो ।
कांग्रेस वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो १ बजे पुल उद्घाटन गर्ने भनिएपछि नेकपा समर्थित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो ।
झडपको अवस्था सिर्जना हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्