७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’


0
Shares

झापा, साउन ४ । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।

मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कन्काई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा स्थानीयले टुकी बाल्दै आएका थिए ।

‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए’–चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने–‘कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन । तुरुन्तै व्यवस्था हुन्छ भनेलगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौं ।’

विद्युत् समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’अन्तर्गत् रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सुरुंगाबाट ६ किलोमिटर दक्षिणमा रहेको यो गाउँमा कुलमान घिसिङकै फोटोअंकित बोर्डसमेत राखिएको छ ।

पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए । रासस