
काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।
सचिवलाय बैठकअघि ओली र दाहालले अलग्गै बैठक गर्नुभएको थियो । अध्यक्षद्वयबीच २५ दिनपछि एक्ला एक्लै बैठक भएको हो ।
यसअघि, गएको मंगलबार ओली सहभागी नभएपछि केहीबेर बसेर सचिवालय बैठक आजका लागि सारिएको थियो ।
आजको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेस गर्नुभएका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
गएको कात्तिक २८ गते दाहालले एकल प्रस्ताव पेस गर्नुभएको थियो । मंसिर १३ गतेको बैठकमा ओलीले त्यसको जवाफ दिँदै अर्को प्रस्ताव पेस गर्नुभएको थियो ।
दुई अध्यक्षले एकार्काप्रति गम्भीर आरोप–प्रत्यारोपसहित छुट्टा–छुट्टै राजनीतिक प्रस्ताव अघि सारेपछि नेकपाको संकट थप चुलिएको छ । ओलीले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दबाब दिइरहनुभएको छ ।
दाहाल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेस भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्