२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कृषिमा प्रविधि छ, कृषकको पहुँच छैन !


0
Shares

झापा, मंसिर २० । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन ।

धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ छ ।

झापामा आधुनिक कृषिऔजार भित्रिएपनि सबैको पहुँच पुग्न नसक्दा परम्परागत प्रणालीबाटै बाली भित्र्याउनुपर्ने बाध्यता छ ।

अर्जुनधाराका कृषक यादव सुवेदीले पनि आधुनिक उपकरणमा आफ्नो पहुँच नपुग्दा परम्परागतरुपमा नै बाली भित्र्याउनुपरेको छ ।

कृषि मजदुर नपाइनुको पीडा एकातिर छ भने अर्कातिर ज्याला महँगो हुँदा मारमा परेको उनको दुखेसो छ ।

अहिले धान काट्न कम्बाइन हार्वेस्टर मेसिन भित्रिएको छ । तर, यसको पहुँच सबै कृषकसम्म पुग्न नसक्दा ग्रामीण क्षेत्रका कृषक अझैपनि परम्परागतरुपमै धान काट्न बाध्य छन् । सहुलियतरुपमा कृषिऔजार दिनुपर्ने माग उनीहरुले गरेका छन् ।

केही वर्षअघिसम्म प्रशस्त मात्रामा कृषि मजदुर पाइएपनि अहिले युवापुस्ता कृषितर्फ आकर्षित छैनन् ।

अधिकांश युवा विदेश पलायन हुने भएकाले कृषि मजदुर पाइन छाडेको अर्जुनधाराकै अर्का किसान अम्बिका शिवाकोटीको गुनासो छ ।

धान काट्ने उपकरण भित्रिएपनि कम्बाइन हार्वेस्टर मेसिनले धान काट्दा लडेको धान समस्या हुने र आफैंले काट्नुपर्ने, छेउकुना मेसिनले काट्न नसक्ने हुँदा दोहोरो झञ्झट हुने गरेको केही कृषकको अनुभव छ ।

यता, कृषि यान्त्रिकीकरणको रस भिजेका कृषकको अनुभव भने बेग्लै छ ।

अर्जुनधाराकै कृषक दावा बम्जनले भने धान रोप्नेदेखि काट्ने र झार्नेसम्मका उपकरण भित्रिएपछि बाली भित्र्याउन सहज भएको बताएका छन् ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड शाखाले सरकारले धानको समर्थन मूल्य तोकेसँगै खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ ।

कम्पनीका गुणस्तर नियन्त्रण अधिकृत अनन्तराज पौडेलले बिचौलियाको धान खरिद नगरी सोझै किसानले बिक्री गरेको धानमात्रै कम्पनीले खरिद गर्ने बताउनुभयो ।

कृषकले उत्पादन गरेको अन्नबालीले उचित बजार नपाउनु र सरकारले पनि सीमित कोटा छुट्ट्याएरमात्रै धान खरिद गर्दा वास्तविक किसान सधैं मारमा पर्ने गरेका छन् । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्