
दुबई, मंसिर २० । कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ ।
अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो ।
बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्यूज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ ।
यसअघि, बुधबार बेलायतले यही खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो ।
देशको राष्ट्रिय स्वास्थ्य नियामक निकायले सबै कुरा अध्ययन गरेर यसलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो ।
प्रयोगका लागि स्वीकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिनेछ भन्नेबारेमा भने केही जानकारी दिइएको छैन ।
त्यसैगरी, फाइजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले–कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।
झन्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराइनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजारजना संक्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्