
काठमाडौं, मंसिर २० । काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र आइतबार (भोलि)देखि विद्यालयहरु खुल्ने भएका छन् ।
तारकेश्वर नगर प्याब्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्य सुरक्षाका सबै मापदन्डहरु पूरा गरिएको जानकारी दिइयो ।
नगर शिक्षा शाखाले कक्षा–८, ९ र १० का कक्षाहरु सञ्चालन गर्दा दुई ‘सिफ्ट’मा पढाउन विद्यालयहरुलाई निर्देशन दिएको थियो । जसमा हप्ताको तीन दिनमात्र विद्यार्थीहरु भौतिकरूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउनेछन् ।
नगर शिक्षाले तोकेको स्वास्थ्य सुरक्षाका मापदन्ड र अन्तर्राष्ट्रियरुपमा प्रचलनमा आएका मापदन्डहरूलाई संस्थागत विद्यालयहरुले पूरा गरेकाले आइतबारदेखि विद्यालय सञ्चालन हुने जनाइएको छ ।
विद्यालयमा ‘हेल्प डेस्क’को व्यवस्था गरिएको छ । विद्यालयका कक्षाकोठाहरु दैनिक सरसफाइ र निर्मलीकरण गरिने तयारी गरिएको छ ।
दैनिक पाँच मिनेट कोभिड–१९ संक्रमणबारे विद्यार्थीहरुलाई जानकारी दिइनेछ । विद्यालयहरुले एक सिफ्टमा चार घन्टामात्र विद्यालय सञ्चालन गर्नेछन् ।
सिफ्ट सञ्चालन गर्दा ठूला कक्षाहरुलाई बिहानीको सत्र र सानालाई दिउँसोको सत्रमा राखिनेछ ।
नगर शिक्षा शाखाले स्वास्थ्य सुरक्षाका मापदन्ड पूरा नगरी विद्यालय हतारमा नखोल्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्