
जुम्ला । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् ।
विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएकोप्रति आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो,“आधा महिनादेखि सदरमुकाममा बिजुली छैन, उपभोक्ताका आधारभूत आवश्यकता पूरा हुनसकेका छैनन् । बिजुली आपूर्तिका लागि न विद्युत् प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्यौलमा परेको छ ।”
समितिले अहिलेकै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारणलाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने, बोलपत्र आह्वान गरी जोडिएको मेसिनमा पटक–पटक खराबी देखिएकोले यथाशीघ्र छानबिन गर्नुपर्ने र छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ ।
जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने सङ्घर्ष समितिले जनाएको छ ।
तत्काल उज्यालोका लागि विद्युत् प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो ।
घुघुती विद्युत् गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिङ्गो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ ।
वैकल्पिक व्यवस्थाका लागि ल्याइएको डिजेल प्लान्ट इन्धन अभावले थन्किएको छ । विसं २०४० मा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख बजेटबाट नयाँ मेसिन जडानको काम शुरु गरेको थियो ।रासस
प्रतिक्रिया दिनुहोस्