२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड


0
Shares

काठमाडौं, मंसिर २२ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।

कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरुले विपद्को अवस्थामा श्रमिक र रोजगारदाताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुमाएकालाई पुनः रोजगारीमा फर्काउन चुनौती भएको बताउनुभयो ।

पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै दुई–तीन वर्ष लाग्ने भएकाले रोजगारी फर्काउनसमेत चुनौती देखापरेको उहाँले बताउनुभएको हो ।

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर विकले देशको लागि उद्योग, कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताउनुभयो ।

अहिलेपनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने उहाँले बताउनुभयो ।

कोरोनाका कारण उद्योग–व्यवसाय पुरानै लयमा सुचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै, वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् ।

त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।