
काठमाडौं, मंसिर २२ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार (भोलि) सार्वजनिक गरिने भएको छ ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्तरुपमा नयाँ उचाइ सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्तरुपमा सगरमाथाको उचाइ मापनको परिणाम प्राप्त भएको बताइएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषण गर्ने सहमति भएको थियो ।
सगरमाथाको उचाइ पनि बढ्ने सम्भावना देखिएको छ ।
यसअघि, चट्टानी भागलाईमात्र उचाइ मापन गरिँदै आइएकोमा अब हिउँको उचाइलाई समेत मान्यता दिने भएपछि उचाइ बढ्ने सम्भावना रहेको होे ।
मंगलबार हुने ‘भर्चुअल’ कार्यक्रममा परराष्ट्रमन्त्री र परराष्ट्रसचिव, भूमि व्यवस्थामन्त्री र भूमि व्यवस्थासचिव तथा नापी विभागका पदाधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।
चिनियाँ तर्फबाट विदेशमन्त्री, विदेशसचिव, प्राकृतिक स्रोतमन्त्री तथा सचिव सहभागी हुनुहुनेछ ।
पटक–पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म सर्भे अफ इन्डियाले मापन गरेको आठ हजार ८४८ मिटर उचाइलाई आधिकारिक उचाइ मानिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्