
काठमाडौं । अमेरिकी संक्रमण रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले क्रिसमस लगत्तै कोरोनाको संक्रमण दर उच्च रहने चेतावनी दिनुभएको छ ।
विश्वका लागि क्रिसमस र नयाँ वर्षको सुरुवात चुनौतीपूर्ण रहने भन्दै सचेत रहन डा फाउसीको अपिल छ ।
उहाँले नयाँ वर्ष र क्रिसमसमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमण बढ्ने सम्भावना तीव्र रहेको बताउनुभयो ।
अमेरिकामा दैनिक औसत २ लाखका दरले कोरोना संक्रमितहरु रहने गरेकाले यसको दर आगामी दिनमा अझै बढ्ने उहाँको आंकलन छ ।
अमेरिकाको लस एन्जेलसमा क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा लकडाउन गर्ने तयारी रहेको जनाउँदै उहाँले अमेरिकी जनता जटिल अवस्थामा रहेको औंल्याउनुभयो ।
यसअघि थ्यांक्सगिभिङ कार्यक्रममा हजारौंको भिडभाडको नतिजा अमेरिकाले भोगिरहेको भन्दै डा.फाउसीले क्रिसमस र नयाँ वर्षमा सचेत रहन अपील गर्नुभएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्