३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कञ्चनपुरमा अवैध उत्खनन् गर्ने ६ वटा स्काभेटर प्रहरी नियन्त्रणमा


0
Shares

कञ्चनपुर । कञ्चनपुर प्रहरीले चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा अवैध तरिकाले उत्खनन् गरिरहेका ६ वटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

बेदकोट नगरपालिका ४ स्थित बगुन खोलामा अवैध तरिकाले उत्खनन् भइरहेको समाचार इमेज च्यानलमा प्रसारण भएलगत्तै प्रहरीले ६ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको हो ।

सरकारले नदी तथा खोलानालामा उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहेको छ ।

गिट्टीबालुवा उत्खननका लागि ठेक्का दिएको बेदकोट नगरपालिका अवैध उत्खनन् बारे मौन देखिएपछि स्थानीय प्रशासनले चासो देखाएको हो ।

बगुन खोलामा अवैध तरिकाले उत्खनन् गरिरहेका स्काभेटरहरु नियन्त्रणमा लिएर कारवाही अगाडी बढाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

यता बेदकोट नगरपालिकाले भने प्रारम्भिक वातावरण परीक्षण गरिएकाले मापदण्ड अनुसार नै उत्खनन् भइरहेको जनाएको छ ।

नगरपालिकाले चुरेलगायत पालिकाभित्रका पाँच वटा नदी तथा खोलामा गिट्टी बालुवा उत्खनन्का लागि अमृत कन्सट्रक्सनसँग ८५ लाखमा ठेक्का सम्झौता गरेको छ ।