२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चार महिनामा २५ अर्बको खाद्यान्न आयात


0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा मुलुकमा २५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न आयात दोब्बरले वृद्धि भएको हो ।

साउनदेखि कात्तिक महिनासम्म मुलुकमा २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्यान्न आयात ९९ प्रतिशतले बढेको केन्द्रले जानकारी दिएको छ ।

गत वर्ष सोही अवधिमा १२ अर्ब ५६ करोड ६४ लाख १२ हजार रुपैयाँको आयात भएको थियो । चामल, मकै, कोदो, गहुँ लगायतका अन्य खाद्यान्न गरेर २५ अर्ब भन्दा बढीको आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

छिमेकी मुलुक भारतबाट सबै भन्दा धेरै खाद्यान्न आयात भएको छ । मुुलुकमा खाद्यान्नमा आत्मनिर्भर बन्ने भनिएपछि स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न भित्रिने गरेको छ ।

केन्द्रका अनुसार चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात भएको छ । साउनदेखि कात्तिकसम्म भएको चामलको आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो ।

यो अवधिमा १ लाख ९८ हजार टन अर्थात् १९ करोड ८३ लाख किलो चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२० प्रतिशत बढी हो ।

गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।

गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसकेको छ ।

चैतबाट गरिएको लकडाउनपछि खाद्यान्नको आयात ह्वात्तै बढेको छ । खाद्यान्नको खपत बढ्दै गएपछि स्थानीय उत्पादनले बजार माग पूरा गर्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न आयात भएको हो ।

गत वर्ष एक वर्ष अवधिमा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो ।

खेतियोग्य जमिन घडेरीमा प्रयोग हुनु, कृषिमा काम गर्ने जनशक्ति अभाव जसको कारणले गर्दा मुलुकमा मागअनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन ।