
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो ।
तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ भने अर्कातिर फाप्ला मैदान गौचरनमा परिणत भएको छ ।
फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता गराइँदै आएको धनगढीको फाप्लामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा गरेपछि स्थानीय खुसी भएका थिए ।
सरकारले घोषणा मात्र गरेन, गौरवको आयोजनामा राखी बजेट समेत छुट्ट्याएपनि काम भने हुन सकेको छैन । जग्गा प्राप्ति लगायत प्रक्रिया अगाडि बढाइएकै छैन ।
यसले गर्दा यहाँका खेलप्रेमीमा निराशा छाएको छ । सरकारले बर्षेनी बजेट छुट्याउने तर कार्यान्वयनमा नआउने परिपार्टीले खेलप्रेमी चिन्तित बनेका हुन् ।
धनगढीका स्थानीय नरेन्द्र थापाले खेलकुद मैदान तत्काल सञ्चालनका लागी आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भयो भनेर खुसी भएका स्थानीयमा निराशा छाएको हो ।
सरकारले निर्माणमा तदारुकता नदेखाउँदा मैदान गौचरमा परिणत भएको स्थानीयको भनाई छ ।
प्रदेश सरकारले गौरवको आयोजनामा राखे पनि कुनै काम अगाडि नबढेकाले फाप्ला अहिले गौचरमा परिणत भएको छ ।
धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले प्रदेश सरकार गौरवको योजनामा राख्ने तर कार्यान्वयन नहुने भन्दै टिप्पणी गर्नु भयो ।
फाप्ला मैदान रहेको जग्गालाई लिएर विवाद भएकाले काम अगाडि बढाउन समस्या भएको प्रदेश सरकारको भनाइ छ ।
सुरुमा सामुदायिक वनको भनेर विवाद भए पनि जग्गा सरकारी भएको स्पष्ट भइसकेको छ तर निर्माणका लागी कसैले पनि अग्रसरता देखाएको छैन ।
यस बर्ष मैदान निर्माणको काम अघी बढ्ने निबर्तमान अध्यक्ष जिल्ला खेलकुद बिकास समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेस्ठले दावी गर्नु भयो ।
दुई वर्षमा रङ्गशाला निर्माणका लागि छुटाइएको ५ करोडभन्दा बढी बजेट फ्रिज भइसकेको छ । चालू आर्थिक वर्ष एक करोड मात्र छुट्टाइएको छ ।
एकातिर बजेट घटाइनु र अर्कातिर कामै सुरु नहुनुले अन्तराष्ट्रियस्तरको रङ्गशाला बनाउने प्रदेश सरकारको गौरवको आयोजना कागजमै सीमित हुने त होइन भन्ने प्रश्न उठाउन थालिएको छ । भिडियो
प्रतिक्रिया दिनुहोस्