२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ विरुद्धको खोप


0
Shares

लन्डन, मंसिर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान सुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुआत गरियो ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको छ ।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केयरहोममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताउनुभएको छ ।

बेलायतको नियामक निकायले गत बुधबारमात्र फाइजरको खोपलाई अनुमति दिएको थियो ।

कतिपय वैज्ञानिक समुदायले बेलायतले अलि बढी हतार गरेको बताएपनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।

बेलायतले हालसम्म चार करोड ‘डोज’ खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब दुई करोड मानिसलाई खोप दिन पुग्नेछ ।

पहिलो चरणमा करिब आठ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही डिसेम्बर महिनाको अन्त्यसम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ ।