
काठमाडौं, मंसिर २३ । विभिन्न कार्यक्रमको आयोजना गरी संघीय संसद सचिवालयले यस वर्ष पनि संसद सेवा दिवस मनाउँदै छ ।
संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरी १४औं संघीय संसद सेवा दिवस–२०७७ मनाउन लागेको हो ।
सचिवालयले यस अवसरमा रक्तदान, वक्तृत्वकलालगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।
मंगलबार रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको परिस्थितिमा रक्तदानको विशेष महत्व रहेको भन्दै सचिवालयले गरेको रक्तदानले अस्पतालमा भइरहेको रगत अभावलाई पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वि.सं. २०५८ मंसिर २८ मा संसद सेवालाई निजामती सेवाबाट अलग गरेर संसद सेवा ऐन जारी भएको दिनको अवसरमा वि.सं. २०६३ साल मंसिर २८ देखि संसद सेवा दिवस मनाइँदै आएको छ ।
२०५८ देखि २०६३ सालको अवधिमा संसद नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।
संसद दिवसको मुख्य दिन मंसिर २८ गते संसद सचिवालयले विशेष कार्यक्रमको आयोजना तय गरेको छ ।
संसद सेवाका कर्मचारीहरुले संसद बैठक सञ्चालन, संसदीय समितिका बैठक सञ्चालन र संसदभित्रका आर्थिक तथा प्रशासनिक काम गर्दै आएका छन् ।
संघीय संसदअन्तर्गत दुवै सदनका गरी १६ ओटा विषयगत समिति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्