३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मेसी र रोनाल्डो दुई वर्षपछि आमने–सामने


0
Shares

काठमाडौं, मंसिर २३ । विश्व फुटबलका महारथीहरु लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुई वर्षपछि एकार्काबीच मैदानमा उत्रने भएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत् मंगलबार समूह चरणको खेलमा रोनाल्डोको युभेन्टसले मेसीको बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिमले रोनाल्डो र मेसी आजको खेलमा उपस्थित हुने जानकारी दिएका छन् ।

यसअघि, घरेलु मैदानमा भएको खेलमा कोरोनाभाइरस संक्रमणका कारण रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए । सो खेलमा बार्सा २–० ले विजयी भएको थियो ।

आजको खेल बार्सिलोना र युभेन्टसभन्दा पनि मेसी र रोनाल्डोबीचको भेटका रुपमा हेरिएको छ ।

सन् २०१८ मा रोनाल्डो स्पेनिस क्लब रियाल मड्रिडबाट युभेन्टस गएपछि पहिलोपटक यी दुई एकार्काबीच मैदानमा उत्रँदैछन् । बार्सा र युभेन्टस दुवै नकआउट चरणमा पुगिसकेका छन् ।

युभेन्टस पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउमा रहेको छ ।

च्याम्पियन्स लिगमा मंगलबार राति एकै समयमा नेपाली समयानुसार पौने २ बजे आठ खेल हुँदैछन् । अरु खेलमा चेल्सीले एफसी क्रास्नोदारसँग, रेन्नेसले सेभियासँग, लाजियोले क्बल ब्रागसँग, जेनित सेन्ट पिटर्सबर्गले बोरुसिया डर्टमुन्डसँग, डाइनामो किभले फेरेनभारोससँग, पेरिस सेन्ट जर्मेनले इस्तानबुल बसाक्सेहिरसँग र रासेनबल स्पोर्ट लेप्जिगले म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।