
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबारको सर्वदलीय बैठकमा गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारकै कारणले संघीयता र गणतन्त्रविरोधीहरु सल्बलाएको आरोप लगायो ।
राप्रपाले भने सडकका आन्दोलनमा आफ्नो समर्थन रहेको भन्दै संविधान संशोधनमार्फत् हिन्दुराज्यसहितको राजसंस्था स्थापना गर्नुपर्ने अडान राखेको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा देखिएका संविधानविरोधी र हिंसात्मक गतिविधि सरकारलाई सह्य नहुने स्पष्ट पार्नुभयो ।
तर, नेपाली कांग्रेसले भने सरकारले ठिक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको र त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ ।
सरकारले नै गणतन्त्र र संघीयतामाथि हमला हुनेगरी जनप्रदर्शन निम्त्याएको कांग्रेसको निष्कर्ष छ ।
बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीको समर्थन खोजेपनि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालका पत्रपछि नेकपा सरकारलाई शासन गर्ने राजनीतिक तथा नैतिक अधिकार गुमेको प्रतिपक्षीको ठहर छ ।
त्यसो त राजावादीविरुद्ध एकजुट हुन सर्वदलीय बैठकमा प्रधानमन्त्रीद्वारा आह्वान गरिएपनि राप्रपाले भने जनप्रदर्शनकै समर्थनमा मत जाहेर गरेको छ ।
बैठकमा राप्रपाले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरेपनि अन्य नेताहरुबाट भने कुनै जवाफ आएन । विरोधका स्वरहरुको सम्बोधन संविधान संशोधनबाट गरिनुपर्ने राप्रपाको अडान छ ।
त्यसो त राजनीतिक दलहरुले उपलब्धि ठानेका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरोधी चर्को आवाजहरु पछिल्लो समय देशव्यापीरुपमा भइरहेको जनप्रर्शनले देखाएको छ ।
त्यसविरुद्ध सबै दलको साथ माग्न प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकार सच्चिए कांग्रेसले संघीयता, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रष्टाएको छ ।
प्रतिक्रिया दिनुहोस्