
काठमाडौं, मंसिर २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरी चक्रपथ विस्तार अघि बढाइने बताउनुभएको छ ।
मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँगको छलफलमा उहाँले स्वयम्भू क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताउनुभएको हो ।
मन्त्री नेम्वाङले सडक निर्माणको मापदन्ड, विश्व सम्पदा सूचीको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तार अघि बढाइने बताउनुभयो ।
हजार बुद्धसहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि मन्त्री नेम्वाङले स्पष्ट पार्नुभयो ।
प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।
छलफलमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले चक्रपथ विस्तारले स्वयम्भू क्षेत्र विश्व सम्पदाको सूचीबाटसमेत हट्ने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
सरकारले चक्रपथ विस्तारको दोस्रो अभियानअन्तर्गत् कलंकीदेखि महाराजगञ्ज हुँदै धोबीखोलासम्मको सडक क्षेत्र विस्तार गर्दैछ ।
चक्रपथ विस्तार गर्दा स्वयम्भूको पछाडिपट्टि रहेको हजार बुद्धसहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठमाडौं महानगरपालिकाले त्यसको प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्