
पोखरा, मंसिर २३ । पत्रकार प्रदीप पौडेल ‘युआरएल पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।
गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
गण्डकी मेडिकल कलेज (जीएमसी)का प्रिन्सिपल प्रा. डा. रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे ।
पौडेल इमेज च्यानलका गण्डकी ब्यूरो प्रमुख र रेडियो बाराहीका समाचार संयोजक हुन् ।
वि.सं. २०५९ मा पत्रकारिता सुरु गरेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्कीका सचिव छन् ।
जीएमसीका प्रिन्सिपल श्रेष्ठले पत्रकारजगतले निर्वाह गर्ने भूमिका महामारी, महासंकटलगायतमा अझ बढ्ने उल्लेख गरे ।
उनले बिरामी खर्चकै अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष श्रेष्ठले विभिन्न संघ–संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार राखे ।
प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्रमा हुने कमी–कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको बताए ।
करिब डेढ दशकदेखि पत्रकार पौडेलले यस्तै भूमिका निर्वाह गरिरहेकाले उनलाई पुरस्कारका लागि छनोट गरिएको उनले जनाए ।
प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य थिए ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको जनाए ।
पुरस्कृत पत्रकार पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको उल्लेख गरे । उहाँले कोभिड–१९ संक्रमणपछि आफूले भोगेको अनुभव पनि सुनाए ।
युआरएलका प्रबन्ध निर्देशक पन्तले युआरएलले सात वर्षको अवधिमा करिब १०० ओटा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत दिएको उल्लेख गरे ।
प्रबन्ध निर्देशक पन्तले चाँडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको बेसीसहरमा शाखा विस्तार गर्न लागेको जानकारी दिए ।
उनले गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाए ।
युआरएलले स्थापना र सञ्चालन गर्ने यो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्ने गरिएको छ । यसअघि, यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्