
उदयपुर, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता संकटमा पर्दै गएको धारणा राख्नुभएको छ ।
पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता वैद्यले बुधबार बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नम्बर–१ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक संकट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता संकटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताउनुभयो ।
अर्काे प्रसंगमा उहाँले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिनुभयो ।
सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढेमात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायीरुपमा समृद्धितिर जाने धारणा वैद्यले राख्नुभयो ।
पार्टी पूर्वी ब्यूरोको बैठक बुधबार नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नम्बर–१ का इन्चार्ज मीनकुमार राउतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्