
इलाम, मंसिर २४ । इलाममा पानीको हाहाकार भएपछि अहिले खानेपानीको काम धमाधम भइरहेको छ ।
पाइप बिछ्याउनको लागि बजारभित्रका बाटोहरु खन्न थालिएको छ । तर, यसलाई समयमै पूरा गर्ने तदारुका नदेखाउँदा अर्को समस्या थपिएको छ ।
इलाम बजारमा साना सहरी खानेपानी आयोजनाको काम अगाडि बढाइएपनि कामले तीव्रता पाउन सकेको छैन ।
आउने चैत महिनासम्ममा सम्पन्न गरिने लक्ष राखिएको आयोजनाको पाइपलाइन, पानी प्रशोधन केन्द्र, ट्यांकी निर्माणलगायतका काम भइरहेका छन् ।
आयोजनाको ५७ करोड ९५ लाख सात हजार रुपैयाँमा रमण कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो ।
आयोजना सञ्चालनका लागि नगर विकास कोषको १४ करोड ४८ लाख ७७ हजार रुपैयाँ र उपभोक्तामार्फत् उठाइएको दुई करोड ८९ लाख ७५ हजारमार्फत् आयोजना सञ्चालन गर्न लागिएको हो ।
दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित ७५ साल चैत महिनामा काम सुरु गरिएपनि ढिलासुस्ती हुँदा बजारमा यातायात सञ्चालनलगायत बजार ओहोरदोहोर गर्नेका लागि लामो समयदेखि समस्या आएको छ ।
आयोजना सम्पन्न भएपछि तीन वर्षसम्म निर्माण कम्पनीले नै मर्मत–सम्हार गर्ने सम्झौता गरिएको छ ।
आयोजनाका व्यवस्थापक मेघराज धिमालले कोरोनाका कारण छ महिना काम हुन नसक्दा समस्या भएको बताउनुभयो ।
आयोजना सम्पन्न भएपछि इलाम बजारमा खानेपानी समस्या समाधान हुने नगरबासीको अपेक्षा छ ।
आयोजनामार्फत् हाल तीन हजारमाथि घरधुरीमा पाइप जडान भइसकेको छ । तर, एसियाली विकास बैंकको तथ्यांकमा चार हजार घरधुरीमा पानी पुर्याउने लक्ष रहेको खानेपानी आयोजना सञ्चालक समितिका अध्यक्ष केदार थापाको भनाइ छ ।
जडान भएका धारामा २४ घन्टा नै पानी झर्नेछ । हाल इलाम नगरपालिकामा एक दिन बिराएर पानी आउँदा बजारमा पानीको समस्या बढ्दै गएको छ ।
बजारमा सन्दकपुर गाउँपालिकाका चारओटा खोलाबाट जम्मा गरेर पानी ल्याउन तयारी भइरहेको छ । बजार विस्तारसँगै इलाममा पानी अपर्याप्त भएपछि नयाँ प्रविधिमार्फत् पानी ल्याउन लागिएको हो ।
त्यसैले पनि काममा ढिलासुस्ती नगरी बजारबासीको अपेक्षाअनुसार कामलाई तीव्रता दिनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्