
काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १२औं राष्ट्रिय मानवअधिकार महाभेलाको अवसरमा बुधबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा उहाँले मानवअधिकारको सूचना पाउने हक सुनिश्चित हुने गरी सूचना–प्रविधिको विकासमा जोड दिइने बताउनुभयो ।
मन्त्री गुरुङले विकसित, अल्पविकसित र विकासोन्मुख देशले पनि कोरोनाको खोपबाट लाभ लिन सकून् भन्नेमा मानवअधिकारकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो ।
कोरोनाविरुद्धको खोप नेपाली जनताले पनि छिट्टै उपभोग गर्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाईंले मानवअधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन नभएको भन्दै महाभेलाले आयोगले गरेको सिफारिस कार्यान्वयन गराउनेतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।
यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेला २०७७ सम्मान भद्रमान घलेलाई प्रदान गरिएको छ । यस्तै, शान्तालक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान सपना रोक्कामगर र पद्यमरत्न मानवअधिकार सम्मान दमननाथ ढुंगानालाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्