१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धान बेच्दा लालपुर्जा देखाउनुपर्ने प्रावधानले अधिया खेती गर्ने किसान मर्कामा


0
Shares

काठमाडौं, मंसिर २४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद सुरु गरेको छ ।

कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिरहेको छ ।

तर, कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधिया गर्ने किसानहरु चिन्तित देखिन्छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरुले सजिलै धान बिक्री गर्न पाएका छन् ।

कुपनअनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताउनुभयो ।

कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले बताएका छन् ।

कुपन प्रणाली लागू गरेपछि कुपन वितरणमा भने भिड लाग्ने गरेको छ ।

कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ । यसबाट अधियाँ खेती गर्ने किसानले कुपन पाउन सकेका छैनन् । त्यसैले बिचौलियाहरुले चलखेल गरिरहेको गुनासो पनि किसानहरुको छ ।

स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान बिक्री गर्न २५ कट्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताउनुभयो ।

कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ ।

भिडियो हेर्नुहोस्