
काठमाडौं, मंसिर २४ । सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिकरुपमा राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित सांसदहरुले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले एआईजीको दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्रीले नैतिकरुपमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
आफ्नो प्रस्तावविपरीत निर्णय हुँदा ‘मन्त्रालय र प्रहरी संगठन चलाउन सक्दिनँ’ भन्दै राजीनामा दिएको भए समस्याको समाधान भइसक्ने उहाँको भनाइ थियो ।
उहाँले सरकारले गरेको यस्तो त्रुटिले नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’ नै भत्काउने जिकिर गर्नुभयो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले सरकारले नियतवश एआईजी पद सिर्जना गरेर प्रहरी संगठनकै बदनाम गरेको बताउनुभयो ।
उहाँले ‘दुईओटा भर्याङ एकैपटक चढाएर नेतृत्वमा पुर्याएको प्रहरीले देशको सुरक्षा कसरी गर्छ ?’ भन्दै प्रश्नसमेत गर्नुभयो ।
नेकपाकै सांसद लालबाबु पण्डितले प्रशासन समितिमा गृहमन्त्रीसमेत रहने भएकाले ‘मेरो स्वीकृतिबिना प्रस्ताव आयो’ भनेर भन्न नपाउने धारणा राख्नुभयो ।
सांसदहरुले गृह मन्त्रालयको स्वीकृतिबिना यस्तो प्रस्ताव पारित हुनै नसक्ने भएकाले गृहमन्त्रीले नै यसको जवाफ दिनुपर्ने बताएका थिए ।
तर, गृहमन्त्री थापाले भने मन्त्रालयबाट पाँचजना डीआईजीको प्रस्ताव लगिएकोमा प्रशासन समितिबाट एकजना एआईजी थप हुने प्रस्ताव तयार भई निर्णय भएको जवाफ दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्