
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुन दबाव परेको छ ।
अध्यक्षद्वयले छुट्टाछुट्टै आरोपपत्र सचिवालय बैठकमा पेश गरेसँगै बढेको विवाद स्थायी कमिटीमा पुगेपछि अध्यक्ष ओलीले आफू बैठकमा सहभागी नहुने बताउनुभएको थियो ।
दुवै अध्यक्षले एकअर्काका प्रस्तावमाथि छलफल गर्ने भन्दा पनि अस्वीकार गर्ने रणनीति लिएपछि सचिवालय बैठकमा समस्या झन् बल्झिएको थियो ।
त्यसलगत्तै बोलाइएको स्थायी कमिटी बैठकमा आफू उपस्थित नहुने भन्दै अध्यक्ष ओलीले कारवाही गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती पनि दिनुभएको थियो ।
उहाँले यसअघि पटक पटक भएका सचिवालय बैठकमा स्थायी कमिटी बैठकको औचित्य नभएकाले आफू उपस्थित नहुने अडान राख्दै आउनुभएको थियो ।
गत आइतबार बसेका स्थायी कमिटी बैठकमा आफू उपस्थित नभएपनि लिखित मन्तव्य पठाएर उहाँले बैंठकमा सहभागीता जनाउनुभयो ।
यसैबीच स्थायी कमिटीको बैठकपछि संवादहीन रहेका अध्यक्षद्वयबीच हिजो भएको छलफलपछि ओलीलाई आगामी बैठकमा सहभागी हुन नैतिक दवाव परेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले दुवै प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि दाहालले छलफलमा गइसकेकाले स्थायी कमिटीबाटै टुंगो लाग्ने अडान लिनुभएको थियो ।
दाहालको अडानले ओलीलाई थप दबाव परेको हो । प्रधानमन्त्री ओलीले आफूहरुबीच सहमति गरेर अघि बढ्न गरेको प्रस्तावलाई दाहालले अस्वीकार गरेसँगै ओलीलाई दबाव परेको दाहाल पक्षका नेताहरुले दावी गरेका छन् । नेकपा स्थायी कमिटीको बैठक यही मंसिर २८ गते बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्