१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जोर–बिजोरमा कडाइ गर्न निर्देशन दिइएको छ’


0
Shares

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर जारी गरिएका विभिन्न व्यवस्थाहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ । सबै किसिमका सवारी–साधन पनि निर्वाधरुपमा गुडिरहेका छन् ।

तर, गएको भदौमा लागू गरिएको जोर–बिजोर प्रणाली भने अझै कायम छ । यद्यपि, पछिल्लो समयमा भने यो नियम लागू भएको देखिँदैन ।

पछिल्ला दिनहरुको आँकडा हेर्दा परीक्षणको दायरा घटेकाले कोरोना संक्रमण घटेकोजस्तो देखिएको छ । सहर, बजारमा मानिसको चहलपहल र भिडभाड सामान्य अवस्थाकोजस्तो देखिन्छ । सुरक्षा मापदण्ड पालनामा लापरबाही पनि उत्तिकै छ ।

तर, जनस्वास्थ्यविद्हरु भने संक्रमणको जोखिम भने कत्ति पनि कम नभएको बताइरहेका छन् ।

सरकारले पनि संक्रमणको जोखिमलाई विश्लेषण नगरी जनजीवन सामान्य बनाउने प्रयासमा विगतमा लागू गरिएका व्यवस्थाहरु खुकुलो बनाउँदै लगेको छ ।

तर, सवारी–साधन सञ्चालनमा लागू गरिएको जोर–बिजोर नियम भने सैद्धान्तिकरुपमा कायमै छ । पालना गर्ने र गराउने दुवै पक्षले भने यो नियमलाई बेवास्ता गरेको देखिन्छ ।

कतिलाई यो नियम हटिसकेको भ्रम छ भने कतिलाई यो नियम कायमै छ भन्ने हेक्का पनि छैन । ट्राफिक प्रहरीले पनि सवारीको भिडमा जोर–बिजोर पालना गराउन छाडेको देखिन्छ ।

सरकारी अधिकारीहरुसँग यो नियम अहिले किन आवश्यक छ भन्नेबारे चित्तबुझ्दो जवाफ छैन ।

तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने जोर–बिजोर प्रणाली नहटेको र कडाइका साथ लागू गर्नेतर्फ छलफल भइरहेको बताउनुहुन्छ ।

उहाँले संक्रमण रोकथाम र नियन्त्रणका लागि निजी सवारीमा लागू गरिएको जोर–बिजोर प्रणालीमा कडाइ गर्न ट्राफिक महाशाखालाई निर्देशन दिइसकिएको बताउनुहुन्छ ।

ट्राफिक प्रहरीले भने दिउँसोको समयमा जोर–बिजोर नम्बरप्लेटमै केन्द्रित भएर निगरानी राख्न कठिन भएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले अहिले ट्राफिक चाप बढेका कारण त्यसलाई घटाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित हुनुपरेकाले जोर–बिजोरको निगरानी पर्याप्त नभएको स्वीकार्नुहुन्छ ।

सडकमा बढ्दो सवारी चाप हेर्दा जोर–बिजोर प्रणाली निष्प्रभावीजस्तै बनिसकेको देखिन्छ । यसैले यो व्यवस्थालाई बाध्यकारीभन्दा पनि व्यवस्थित बनाउँदै लानु नै उत्तम हुन्छ ।

भिडियो हेर्नुहोस्

भिडियोः योगेश लामा ।