१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्


0
Shares

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ ।

सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि यहाँका अधिकांश खोलानालाहरुमा पालिकाकै संलग्नतामा चोरी–निकासी तथा अवैध उत्खनन् भइरहेको छ ।

कञ्चनपुरमा पछिल्लो समय चुरे तथा वन आसपासका नदी तथा खोलानालामा दोहन बढ्दै गएको छ ।

सरकारले जारी गरेको मापदण्डलाई कुल्चिएर स्थानीय तहहरुले रोयल्टीको लोभमा प्रतिबन्धित क्षेत्रबाट ढुंगा, गिट्टी उत्खनन् गर्न अनुमति दिने गरेका छन् ।

यसैक्रममा स्थानीय प्रशासन र वन कार्यालयले पटक–पटक उपकरणसहित दजनौं सवारी–साधनहरुलाई नियन्त्रणमा लिएका छन् ।

भीमदत्त नगरपालिका–३ स्थित खन्नेखोलामा रोयल्टी उठाएर चुरे क्षेत्रबाट ढुंगा, गिट्टी उत्खनन गर्न अनुमति दिएको भन्दै वडा कार्यालयलाई वनले सचेतपत्र गराएर छोडेको थियो ।

यसरी चुरेलगायतका खोलानाला तथा नदीहरुमा एस्काभेटर तथा ब्लाकोलोडर प्रयोग गरी उत्खनन्को कार्य भइरहेको छ । जसमा स्थानीय तहहरुकै संरक्षणमा प्राकृतिक सम्पदाको दोहन गरेको पाइन्छ ।

आफूहरुले पालिकाभित्रका खोलानालाको प्रारम्भिक वातावरण परीक्षण गरेको बताउँदै सोहीअनुसार गिट्टी, बालुवा उत्खनन्का लागि ठेक्का गरिएको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट बताउनुहुन्छ ।

बेदकोट नगरपालिकाले ‘आइईई’अनुसार ठेक्का सम्झौता गरेको भन्दै मापदण्डअनुसार नै उत्खनन् भइरहेको दाबी गरेपनि आइईई प्रतिवेदनमा भने उत्खनन्का लागि मेसिन प्रयोग गर्ने भनेर उल्लेख गरिएको छैन ।

यस्तै, भीमदत्त, शुक्लाफाँटा र कृष्णपुरमा समेत आइईईबिना चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा अवैध उत्खनन् भएको पाइएपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।

पछिल्लो समय खोलानालाहरुमा अवैध उत्खनन् भइरहेकाले आफूहरुले अनुगमन तथा मापदण्डविपरीत उत्खनन् गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो बताउनुहुन्छ ।

प्राकृतिक सम्पदाको दोहनमा हुने यस्तो अस्वस्थ प्रतिस्पर्धाले वातावरण तथा जलवायु परिवर्तनमा असर पर्नुका साथै भावी पुस्ताका लागि पनि प्राकृतिक सम्पदाहरु विनाश तथा लोप हुने खतरा बढ्दै गएको छ ।

तसर्थ, रोयल्टीको लोभमा क्षणिक फाइदाका लागि प्राकृतिक सम्पदाको दुरुपयोग गर्नुभन्दा पनि यसको संरक्षणमा सबैको ध्यान जान जरुरी छ ।

भिडियो हेर्नुहोस्