
काठमाडौं, साउन २३ । फोटोग्राफी एक कला हो तर कलामात्र भएर पनि हुँदैन, उत्कृष्ट फोटोका लागि कहिलेकाहीँ भाग्यको पनि उत्तिकै साथ चाहिन्छ । तपाईलाई भाग्यले साथ दिएको छ भने तपाईले खिचेकोजस्तो तस्वीर विश्वको अर्को कुनै फोटोग्राफरले खिच्न सक्दैन ।
४३ वर्षीय फोटोग्राफर झ्यीन जेम्स यस्तै भाग्यशाली फोटोग्राफर बनेका छन् । उनी अहिले एक उत्कृष्ट तस्वीरका कारण चर्चामा छन्, जुन तस्वीर भाग्यको साथ पाएर उनले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
तस्वीर जेब्राको हो । तस्वीर झट्ट हेर्दा जो कोही पनि अल्मलिन्छन् । किनकि तस्वीरमा जेब्रोको शरीर एउटै र शीर दुईवटा देखिन्छ । कतिपयले यो तस्वीरमा ‘फोटोसप’मार्फत ‘इडिट’ गरिएको हुनसक्ने अनुमान पनि गर्न सक्छन् । तर तस्वीरमा कुनै कृत्रिमता छैन । ‘पर्फेक्ट टाइम’मा ‘क्लिक’ भएको एउटा दुर्लभ तस्वीर हो यो ।
तस्वीरमा दुईवटा जेब्रा छन् । एक अर्काको अघिपछि उभिएका दुई जेब्रा विपरीत दिशातर्फ टाउको घुमाएको अवस्थामा जेम्सले पछाडीपट्टीबाट लिएको तस्वीर हो यो ।
तस्वीर खिच्दाको अवस्था प्रष्ट्याउँदै उनले भने, ‘तान्जानियाको एनगोरोन्गोरो क्रेटरमा सफारी टूर गरिरहेका थिएँ । त्यहाँ अलि पर जेब्राहरु थिए, मेरो ध्यान दुई जेब्रामा केन्द्रित भयो, जो आपसमा नजिक थिएँ, म तस्वीर लिन थालेँ ।’
तस्वीर लिन खोज्दा दुवै जेब्रा चनाखो हुँदै हल्लिन थालेको उनले बताए । केवल एक नानो सेकेन्ड अवधिभरका लागि यी दुवै जेब्रा पर्फेक्ट फ्रेममा आएको र आफूले त्यही समयमा फोटो क्लिक गर्न सफल भएको उनले सुनाए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्