२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार


0
Shares

काठमाडौं, मंसिर २५ । विनास्वीकृति नेपाल सरकारको निशान छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सोक्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।

यही मंसिर १९ गते सो आयोगका तत्कालीन १३ जना सदस्यको अनुमतिमा आफूहरुले प्रतिवेदन प्रकाशन गरेको जनाउँदै एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा मन्त्रालयले आफूहरुसँग सम्बन्धविच्छेद र सहकार्य नगर्न दातृनिकायलाई आग्रह गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

मन्त्रालयले मंसिर २१ गते विज्ञप्ति जारी गरी उक्त संस्थालाई प्रतिलिपि अधिकार ऐनअन्तर्गत् कारबाही गर्न गृह मन्त्रालयमा लेखी पठाउने पनि जनाएको थियो ।

प्रतिवेदन प्रकाशन सहयोगमा नाम जोडिएको ग्लोबल एक्सन नेपालले प्रकाशनबारे छलफल भएपनि औपचारिक सम्झौता नभएको जनाएको छ ।

एनसीई नेपालले आयोगको प्रतिवेदन सार्वजनिक भई यसमाथि गहिरो विमर्श होस् र यसका सकारात्मक सिफारिस लागू भई मुलुकको सार्वजनिक शिक्षा प्रणालीको गुणस्तर सुधारमा थप योगदान पुगोस् भन्नेबाहेक आफूहरुको अन्य कुनै मनसाय नभएको पनि स्पष्ट गरेको छ ।