१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल ओलम्पिक कमिटीसित साउदीले पनि माग्यो समर्थन


0
Shares

काठमाडौं, मंसिर २५ । साउदी अरेबियाले पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग सन् २०३० को २१औं एसियाली खेलकुद आयोजनाका लागि समर्थन मागेको छ ।

बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठसँग भएको भर्चुअल बैठकमा साउदीका खेलकुदमन्त्री तथा साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन तुर्की अलफैसालले समर्थन माग्नुभएको हो ।

सोक्रममा राजपरिवारका सदस्यसमेत रहेका अलफैसालले तयारीका बारेमा तयार पारेको भिडियो प्रिजेन्टेसनसमेत गरेको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अलफैसालको नौ सदस्यीय टोली बुधबार राति चार्टर्ड फ्लाइटमा काठमाडौं आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा प्राविधिक कारणले फ्लाइट स्थगित हुन पुगेको थियो ।

साउदीको रियादसँगै कतारको दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि इच्छा देखाएका छन् ।

यसअघि, यही मंसिर १८ गते कतारी टोली नेपालमै आएर समर्थन मागेको थियो ।

एनओसी अध्यक्ष श्रेष्ठले अहिले आफूहरुले दुवै देशको तयारीबारे अध्ययन गरिरहेकाले तत्काल समर्थनबारे निर्णय गरिनसकेको जानकारी दिनुभयो ।