
काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ ।
मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
बिहान करिब ६ः३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन ।
हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताउनुभयो । अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ ।
अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ ।
त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।
आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ ।
ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्