१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयरले गरे अवैध उत्खनन्


0
Shares

नवलपरासी, मंसिर २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले नियमविपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ ।

मेयर गुप्ताको आफ्नै इँटा उद्योगको प्रयोगका लागि नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन् गरिएको हो ।

रामग्राम नगरपालिका–१, सन्डामा सञ्चालनमा रहेको शिव–शंकर इँटा उद्योगको नाममा पाँच हजार घनफिट अर्थात् ५० ट्याक्टर बराबर भस्कट अर्थात् माटो र बालुवा मिसिएको पाँगो खोलाबाट निकासी गर्न मेयर गुप्ताले हस्ताक्षर गरेर दिएको अनुमतिपत्रमा उल्लेख छ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपनसम्बन्धी मापदण्ड २०७७ विपरीत गुप्ताले ठेक्का नै नलागेको रामग्राम–१, सन्डास्थित झरही खोलाबाट २० दिनसम्म तीनओटा ट्रयाक्टरबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिएका हुन् ।

अनुमति दिइएका ट्याक्टरले दैनिक २० देखि २५ टिपभन्दा बढी नदीजन्य पदार्थ उद्योगमा पुर्‍याउने गरेको स्थानीयले बताएका छन् ।

उद्योगलाई अनुमति दिएका मेयर गुप्ताले स्थानीयलाई भने नदीजन्य पदार्थ निकासीका लागि अनुमति माग्न जाँदा दिन नमिल्ने भन्दै फर्काइदिने गरेको स्थानीयले बताएका छन् ।