
काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ ।
समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताउनुभएको हो ।
सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरु पालना गर्नुपर्ने बताउनुभएको हो ।
समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उहाँले बताउनुभयो ।
संसद सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरु सरकारले पालना गरे/नगरेको भन्ने सम्बन्धमा समिति आफैंले कार्यप्रगति मूल्यांकन गरी संसदसमक्ष पेस गरी छलफल गराउन सक्नुपर्ने बताउनुभयो ।
तर, सरकारले कुनै निर्देशनहरु कार्यान्वयन नगरेमा समितिका सभापतिहरुले विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधानअनुसार कार्यप्रगति मूल्यांकन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको उहाँले बताउनुभयो ।
समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गएको बुधबार निर्देशन दिएको थियो ।
गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्