
काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् ।
मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हत्या–हिंसा घटनाहरुमा न्यूनीकरण हुनसक्ने उनीहरुको भनाइ छ ।
गत वर्षको चैत महिनामा ‘लकडाउन’ सुरु भएयता कात्तिक मसान्तसम्म सुदूरपश्चिममा २७६ जनाले आत्महत्या गरेका छन् भने १६० बलात्कारका घटना भएका छन् ।
यस्तै, ५८ बलात्कार प्रयास, १६ लैगिंक हिंसा र सबैभन्दा धेरै ५२५ घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् ।
मानवअधिकारकर्मी चित्रा पनेरुले यो अवधिमा अन्य समयमा भन्दा हिंसाका घटना बढेको बताउनुभयो ।
लकडाउनका कारण समाजमा देखिएको मानसिक असरले यो अवधिमा सयौंजनाले आत्महत्यासमेत गरेका छन् ।
कोरोनाले रोजगारीका अवसर गुम्दा खान र बाँच्न पाउने अधिकारकोसमेत हनन् भएको राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनराज जोशीले बताउनुभयो ।
सरोकारवालाहरुबीच समन्व नहुँदा पनि मानवअधिकार हनन्का घटना बढेको अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका प्रमुख खडकराज जोशीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले सबैखाले विभेदको अन्त्य गरी मानवअधिकारलाई प्राथमिकतामा राखेकोले त्यसलाई कार्यान्वयन गरेर नागरिकलाई प्रत्याभूत गराउन सरकारसँगै समाजिक अभियन्ता सबैको दायित्व भएको बताउनुभयो ।
कोरोनाका कारण २२.५ प्रतिशत कर्मचारी र कामदारले सुदूरपश्चिममा रोजगारी गुमाएका छन् । कोरोना कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्