२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘एसियाकै ठूलो’ ढुंगा क्षेत्रमा भौतिक संरचना निर्माण


0
Shares

काठमाडौं, मंसिर २६ । पर्वतको महाशिलामा रहेको ‘एसियाकै ठूलो’ ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

खेतको बीचमा एउटा विशाल ढुंगा छ । जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दाबी छ ।

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । विगतमा प्रचार–प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन ।

पर्वत सदरमुकाम कुस्माबाट डेढ घन्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ । मोटरबाटोको सुविधा पुगेपनि पर्यटकहरु भने खासै पुगेको पाइँदैन ।

तर, अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ ।

यस्तै, महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’समेत गठन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।

यसबाहेक पानीधारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप १०८ धारा निर्माण सम्पन्न भइसकेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्नसक्ने विश्वास गरिएको छ । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरहेको जनाइएको छ ।

दीर्घकालीन योजनाअनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, २०० ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउनेलगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ ।