
काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।
त्यसका लागि आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरी ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर, लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन ।
यस्तै, समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताउनुभयो ।
विशेषगरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने सिलसिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्