२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


खुम्जुङमा स्थानीयको विरोध प्रदर्शन


0
Shares

सोलुखुम्बु, मंसिर २६ । सबैभन्दा अग्लो स्थानमा भएको स्याङबोचे विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

गएको कात्तिक ३० गते लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थल मर्मत नगर्न अनुरोध गरेको भन्दै खुम्जुङमा विरोध प्रदर्शन गरिएको हो ।

स्थानीयको समूहले स्याङबोचे विमानस्थल मर्मत तथा व्यवस्थापन गरी सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले भने गाउँपालिकाले स्याङ्बोचे विमानस्थल मर्मत तथा व्यवस्थापनमा कुनैपनि अवरोध नगरेको बताउनुभयो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणबाट विमानस्थल मर्मतका लागि बजेट व्यवस्थापन गरिने मौखिक जानकारी पाएको तर विमानस्थल मर्मतका सवालमा स्थानीय सरकारले अवरोध नगरेको उहाँको भनाइ छ ।

यसअघि पनि स्याङबोचे विमानस्थल सञ्चालनमा आउँदा करिब ८० प्रतिशत नागरिकको दैनिक रोजगारी गुम्ने र जीवनयापनमा असहजता हुने भन्दै ३१० नागरिक र ६७ व्यवसायीले गाउँपालिकामा निवेदन दिएका थिए ।

सोही निवेदनउपर कात्तिक ४ गते गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग स्याङबोचे विमानस्थल स्तरोन्नति र सञ्चालनका विषयमा सूचना माग गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।