
काठमाडौं, मंसिर २६ । एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालले खेल्ने विश्वकप छनोट तथा एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेलको तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार नेपालले सन् २०२१ को मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
यस्तै, अष्ट्रेलियासँग मार्च ३० मा र जोर्डनसँग जुन ७ तारिखमा खेल्नेछ । नेपालले तीनओटै खेल घरेलु मैदानमा खेल्नेछ ।
गएको मार्च र अप्रिलमा हुनुपर्ने खेलहरु कोरोनाभाइरसको महामारीका कारण स्थगित भएर अक्टोबर–नोभेम्बरसम्म पुगेको थियो ।
छनोटको समूह ‘बी’मा रहेको नेपालको चार खेलबाट तीन अंक रहेको छ । पहिले लेगमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो भने बाँकी टिमसँग पराजित भएको थियो ।
घरेलु मैदान तयार नहुँदा नेपालले दोस्रो लेगको खेलमा कुवेतसँग भुटानमा खेल्दा पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा आयोजना हुने छनोट प्रतियोगिताको संयोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रीय सदस्य विजय घलेलाई जिम्मेवारी दिएको छ ।
मुख्य प्रशिक्षक स्वीडिस योहान कालिनले दिएको राजीनामा स्वीकृत भएसँगै नेपाली टिमको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्