
काठमाडौं, मंसिर २६ । औषधिजन्य उत्पादनका लागि नेपालमा प्राचीनकालदेखि नै गाँजाको प्रयोग हुँदै आएको थियो । तर, ४५ वर्षअघि गाँजालाई प्रतिबन्ध लगाइयो ।
प्रतिबन्धलाई हटाउन नेपालमा समेत आवाज उठिरहेको बेला लागुऔषधसम्बन्धी संयुक्तराष्ट्र संघीय नियोगले पनि गाँजालाई लागुऔषधको सूचीबाट गत हप्ता हटाएको छ । यसबाट गाँजाको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा रहेकाहरु उत्साहित बनेका छन् ।
शैव परम्परामा गाँजालाई शिवबुटीको रुपमा उपयोग गरिँदै आएको थियो । तर, सरकारले ४५ वर्षअघि गाँजालाई प्रतिबन्ध लगाउँदा गाँजाको मिश्रणबाट बन्ने आयुर्वेदिक औषधिको उत्पादनसमेत रोकियो ।
तर, अहिले राष्ट्र संघीय नियोगले गाँजालाई लागुऔषधको सूचीबाट हटाएपछि यसका पक्षधरहरु उत्साही बनेका छन् ।
सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेल सरकारले नीतिगतरुपमा अब गाँजा प्रयोगको अनुमति दिए लोप भइसकेको परम्परागत औषधि पुनः उत्पादन गर्न सकिने बताउनुहुन्छ ।
त्रिभुवनकृति रस, लक्ष्मीविलास रस, रातोवरी, नारदीय लक्ष्मीविलास रस, कनक सुन्दरी र विजय सारलगायतका २० भन्दा बढी औषधिहरुमा गाँजाको प्रयोग हुने गरेको उहाँले जानकारी दिनुभयो ।
गाँजा प्रयोगको सूत्र र विधिसहितको ‘तर्किव किताब’ समितिसँग अहिले पनि सुरक्षित छ । त्यसैले गाँजा प्रयोग भएका औषधिहरुको उत्पादन गरेर ‘पेटेन्ट राइट’ नेपालले लिनसक्ने छ । यसका लागि गाँजा उत्पादनलाई नीतिगतरुपमै अगाडि बढाउनुपर्ने डा. खरेलको भनाइ छ ।
उहाँले थप अनुसन्धान गरेर गाँजालाई परम्परागत चिकित्सा प्रणालीमा व्यापकता दिन सकिने बताउनुभयो ।
गाँजालाई परम्परागत चिकित्सा प्रणालीमा मात्र होइन, यसको खेती गरेर निर्यात गर्न सके देशको अर्थतन्त्रमा आमूल सुधार ल्याउन सकिने आवाज पनि पछिल्लो समय बढ्दो छ । यसका लागि सरकारी स्पष्ट नीति र इच्छाशक्ति आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्