
काठमाडौं, मंसिर २६ । पूर्वआयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगले हिंसाको पुनरावृत्ति रोक्न एवं संविधानको प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेको छ ।
पूर्वआयुक्त समाज नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी संविधानको प्रभावकारी कार्यान्वयनबाट दिगो शान्ति हासिल गर्ने मान्यताविपरीतका गतिविधिहरु बढ्न थालेको जनाएको छ ।
यही मंसिर २३ गते मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याले द्वन्द्वकालमा लमजुङ र ओखलढुंगामा मारिएका शिक्षकहरु मुक्तिनाथ अधिकारी र गुरु लुइँटेलको हत्याको पुनरावृत्ति भएको त हैन ? भन्ने प्रश्नसमेत उठ्न थालेको विज्ञप्ति उल्लेख गरिएको छ ।
संक्रमणकालीन न्याय र संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा फेरि उस्तै प्रकृतिका अपराधहरु दोहोरिन थालेको पूर्वआयुक्त समाजको ठहर छ ।
राष्ट्रिय मानवअधिकार आयोगलगायतका रिक्त संवैधानिक आयोगहरुमा सक्षम पदाधिकारी नियुक्त गर्न र संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्न पनि विज्ञप्तिमार्फत् आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्